२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेता उदय राणा भन्छन्,‘स्वर्णीम वाग्लेले कांग्रेसबाट फाइदा मात्र लिए’




५ बैशाख । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी छोडेर लागेको बताएका छन् ।

कांग्रेसका सांसद राणाले नेपाली कांग्रेस सरकारमा हुँदा वाग्ले नेपाल आएर फाइदा लिने र सरकारबाट कांग्रेस बाहिरिएपछि फेरि विदेश जाने गरेको बताए ।

सांसद राणाले भने, “वाग्ले नेपाली कांग्रेसबाट धेरै फाइदा लिने व्यक्तिमा पर्नुुहुन्छ, सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बन्नुभयो । पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आयोगको उपाध्यक्ष नै बन्नुभयो । देश फर्किएको तीन महिनामै उहाँलाई प्रधानमन्त्री देउवाले आयोगको उपाध्यक्ष बनाउनुभएको थियो । तर उहाँले नै अहिले भने पार्टी सभापतिलाई दोषारोपण गरेर पार्टी छोड्नुभएको छ ।”

सोमबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य राणाले स्वर्णिम वाग्लेमा अवसरवादी चरित्र भएको आरोप लगाउँदै भने, “विसं २०७४ को निर्वाचनमा कांग्रेस सरकारबाट बाहिरिएपछि हामी पाँच वर्ष विपक्षमै बसेर संगठन गर्छाैं भनेर बस्यौँ तर वाग्ले भने विदेशिनुभयो । जब कांग्रेस सरकारमा पुग्छ अनि उहाँ नियुुक्तिका लागि टुप्लुक्क आइपुग्नुहुन्छ, सरकारबाट कांग्रेस बाहिरिएपछि उहाँ पनि विदेशिनुहुन्छ ।”

कांग्रेसमा विदेश पढेर आएका धेरै नेताहरु भएको उल्लेख गर्दै आफूहरु पनि विदेशमै पढेर आएको तर अवसर नपाउँदा पनि देशमै बसी पार्टीको संगठन गर्ने गरेको सांसद राणाको भनाइ थियो ।

नेता राणाले गोविन्द भट्टराई नेपालका समकालीन नेताहरुमध्ये राजनीतिमा अवसर नपाएका नेतामा पर्ने दाबी गरे । उनले भने, “नेविसंघमा उहाँपछि अध्यक्ष भएका सबैले अवसर पाए, तर ३० वर्षदेखि गोविन्द भट्टराई निरन्तर राजनीतिमा हुनुहुन्छ, यसपालि बल्ल टिकट पाउनुभयो । अब उहाँलाई जिताएर पठाउनुपर्छ । यो जित भनेको राष्ट्रपतिको सम्मान पनि हो ।”

यही वैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई उम्मेदवार छन् भने वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।