शिक्षकले विद्यार्थी कुटपिट गरेपछि अभिभावकहरुले शिक्षकको घर घेराउ गरेका थिए
ललितखबर
३० बैशाख । ललितपुरको बडिखेलका श्री पथ प्रर्दशक माविका शिक्षक अन्जनकुमार आचार्यले १७ जना विद्यार्थी कुटेपछि हंगामा मच्चिएको छ ।
शुक्रबार विद्यालयमा कक्षमा ७ मा पढ्ने विद्यार्थीहरुलाई कुटेर घाइते बनाएपछि आचार्यलाई पक्राउ गरिएको महानगरिय प्रहरी प्रभाव बाँडेगाँउले ललितखबरलाई जानकारी दिएको छ ।
शिक्षकले विद्यार्थी कुटपिट गरेपछि अभिभावकहरुले शिक्षकको घर घेराउ गरेका थिए । टोलबासी नै उठेपछि शिक्षकलाई बचाउन प्रहरीलाई खबर गरिएको थियो ।
घाइते विद्यार्थीहरुलाई गोदावरी १४ ठैवस्थित गोदावरी मेडिसिटी अस्पताल लगेर उपचार गरिएको छ । एक शिक्षकका अनुसार सबै विद्यार्थीलाई उपचारपछि घर फर्काइएको थियो । उनीहरुको शरिरभरि नीलडाम भएपछि विद्यार्थीहरुलाई अभिभावकहरुको मागपछि अस्पताल लगेर उपचार गरिएको थियो ।
घटना नियन्त्रणमा लिन पिडक शिक्षकलाई पक्राउ गर्नु परेको बाँडेगाँउ प्रहरीको भनाई छ । एक प्रहरीले भने हामीले शिक्षक आचार्यलाई महानगरिय प्रहरी बृत्त सातदोबाटो पठाएका छौं ।
महानगरिय प्रहरी बृत्त सातदोवाटोका अनुसार शिक्षक आचार्यलाई वडाध्यक्ष सानुभाई नगरकोटी जिम्मा लगाएर पठाइएको छ । तर वडाध्यक्ष नगरकोटीले आफूले पिडिकलाई आफूले फिर्ता नल्याएको बताए । उनले टेलिफोनमा आफूले शिक्षकलाई कारवाही गर्ने तयारी गरेको जानकारी दिए ।
गोदावरी ४का पुर्ववडाध्यक्ष मुकुन्द पहरीले पिडक शिक्षकलाई वडाध्यक्ष नगरकोटीले प्रहरी नियन्त्रणबाट फिर्ता ल्याएर लुकाएको भन्दै आपत्ती जनाएका
ठूलो संख्यामा विद्यार्थी घाइते भएपछि वडाध्यक्ष सानुभाई नगरकोटीको नेतृत्वमा छानविन समिती बनाइएको छ । छानवि समितीको मिटिङ आइतबार बोलाइएको बुझिएको छ ।
गोदावरी ४का पुर्ववडाध्यक्ष मुकुन्द पहरीले पिडक शिक्षकलाई वडाध्यक्ष नगरकोटीले प्रहरी नियन्त्रणबाट फिर्ता ल्याएर लुकाएको भन्दै आपत्ती जनाएका छन् ।
शिक्षकलाई कारवाही नगरे अभिभावकहरु विद्यार्थीलाई विद्यालय नपठाउने बताएका छन् । आफ्ना बच्चा घाइते भएपछि अभिभावकहरु आक्रोसित रहेको उनी बताउछन् । शिक्षक भेटेको खण्डमा अभिभावकहरु नै शिक्षकमाथि आक्रमण गर्ने मनस्थितीमा रहेको बुझिएको छ । अप्रिय घटना घट्न नदिन आफूले समन्वय गरेको बडाध्यक्ष नगरकोटी दावी गर्छन् ।
प्रतिक्रिया