ललितपुर, ५ जेठ । लतिलपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको जनाएको छ । महानगरले पाटन अस्पतालमा शवगृह विस्तार गर्नका लागि आर्थिक सहयोग समेत गरेको छ ।
ललितपुर महानगरले शवगृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख सहयोग गरेको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. रवि शाक्यलाई चेक हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा शवगृह विस्तार गर्ने सम्बन्धमा ललितपुर महानगर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर समेत भयो ।
महानगर प्रमुख महर्जनले महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । कोरोनाको बेलामा महानगरको सहयोगबाट पाटन अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट धेरैजना लाभान्वित भएको बताए । पाटन अस्पतालको आवश्यकता पहिचान गरेर शवगृह विस्तारको लागि सहयोग गरेको उनको भनाई थियो ।
पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. रवि शाक्यले पाटन अस्पतालमा रहेको ४ वटा मात्रै शव राख्न मिल्ने शवगृहमा २० वटाभन्दा धेरै शव राख्नु परेको बाध्यता सुनाए ।
उपप्रमखु मंजली शाक्य बज्राचार्यले ललितपुर महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताइन् ।
यसैगरी महानगरले त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई पनि आर्थिक सहयोग गरेको छ ।
ललितपुर महानगरले रक्त अनुसन्धान केन्द्र संचालन तथा रक्त सेवा प्रवाहका लागि सहयोग पुगोस् भन्दै केन्द्रलाई ५० लाख सहयोग गरेको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीलाई चेक हस्तान्तरण गरे ।
यसका साथै कार्यक्रममा ललितपुर महानगर र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रबीच समझदारी पत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले महानगरबाट प्राप्त सहयोग प्रविधि विस्तारमा प्रयोग गरिने बताए ।
प्रतिक्रिया