१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘आकाश छुने सपना, नेपालको रकेट’ अमेरिका प्रदर्शनी हुँदै



हामीलाई अमेरिकासम्म पुग्न खर्च र भिसा लगायतको समस्या छ । यो प्रोजेक्टमा हामीले विभिन्न निकायबाट सहयोग पाउने प्रतिबद्धता पाए पनि सहयोग पाएका छैनौँ
९ जेठ । आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ ।
एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भएको हो ।
काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले हुने प्रतियोगितामा सहभागी हुने रकेटको अनुसन्धान र विकासमा अनवरत खटिइरहेका युवा वैज्ञानिक पन्ध्र जनाको नामावली टुङ्गो लागेको जानकारी दिएका छन् ।
“हामी एक सय ३५ देशबाट छानिएर २४ मा परेका छौँ । नेपालीले पनि रकेट वा स्पेससम्बन्धी अध्ययन गरेर आफूलाई अब्बल साबित गराउन सफल भएका छौँ । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो”, अध्यक्ष जोशीले भने । उनले यो आयोजनामा रु ९० लाख खर्च भइसकेको जानकारी दिँदै आगामी यात्राका लागि आर्थिक अभाव भएको बताए ।
“हामीलाई अमेरिकासम्म पुग्न खर्च र भिसा लगायतको समस्या छ । यो प्रोजेक्टमा हामीले विभिन्न निकायबाट सहयोग पाउने प्रतिबद्धता पाए पनि सहयोग पाएका छैनौँ”, अध्यक्ष जोशीले भने । नेपालबाट प्रतिनिधित्व गरेर सहभागी हुने भएकाले यस विषयमा बृहत् रुपमा जानकारी गराउन जेठ ९ देखि १४ सम्म काठमाडौँस्थित सिबिएम कलेजमै ‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
आयोजना हुने प्रदर्शनी प्रोजेक्टका लागि सहयोगी हुने विश्वास सिबिएम कलेजका अध्यक्ष सुमन न्यौपानेले व्यक्त गरे । उनले भने, “प्रदर्शनीको उद्देश्य नै सहयोगी भावना बोकेकालाई जोड्ने हो । नेपाली वैज्ञानिकको रकेटसम्बन्धी खोज र अनुसन्धानलाई सहयोग र सहकार्यमा हामी झैँ अझैँ सङ्ख्या बढाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नेपाली वैज्ञानिकलाई प्रोत्साहित गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्दैछौँ ।”
उहाँले नवीन प्रविधिका क्षेत्रमा भइरहेका खोजअनुसन्धानलाई प्रवर्द्धन गर्दै नेपालको शिर उचो राख्ने नेपाली वैज्ञानिकको भावनालाई नेपाल सरकारले पनि आत्मसात् गर्नुपर्ने धारणा राखे ।
डा निकोलस भुसालले नेपालले अन्तरीक्षसम्बन्धी विषयमा ध्यान दिनु जरुरी रहेको बताए । “सहयोग नहुँदा हुँदै पनि भइरहेको विषयमा सरकारसँगै नेपालीले चासो दिनुहोस् भन्ने हाम्रो माग हो । नेपालमा विज्ञानको विषयमा धेरै काम गर्न सकिन्छ । यसलाई हाम्रो सहभागिताले पनि प्रस्ट्याएको छ”, डा भुसालले भन्नुभयो । उनले अन्तरीक्षसमबन्धी ऐन नै बनाएर युवालाई प्रोत्साहित गर्नसमेत आग्रह गरे ।
अन्तरीक्षसम्बन्धी अध्ययन अनुसन्धानमा सरकारले लगानी वृद्धि गर्नुपर्ने, यससम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, विश्वविद्यालयमा अध्ययनको वातावरण बनाउनुपर्ने तथा विभिन्न देशमा क्रियाशील अन्तरीक्षसम्बन्धी काम गर्ने संस्थासँग सहकार्यको वातावरण निर्माण गरिनु आवश्यक रहेको विषयमा कार्यक्रममा चर्चा भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  २ : ०१ बजे