११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जल वायु परिवर्तनको असर : तातो हावा तथा लूकाे सम्भावना बढ्ने चेतावनी



२४ जेठ । जल तथा माैसम पुर्वानुमान महाशाखाले तातो हावा तथा लूकाे सम्भावना बढ्ने चेतावनी दिएकाे छ । आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा जल तथा माैसम पुर्वानुमान महाशाखाले गरेकाे विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा अझै बढ्ने देखिन्छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने पनि महाशाखाले जनाएकाे छ ।
देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू हिट वेभको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ । यसकासाथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ । विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेकोले बढी गर्मीको समयमा सावधानी अपनाउन पनि महाशाखाले अनुराेध गरेकाे छ ।

तातो हावा तथा लूबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , घाममा बढी एक्सपाेज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेकाे छ ।

पछिल्लो समय विश्वव्यापी जलवायु परिवर्तनको असर स्वरुप वातावरणीय प्रभाव देखिन थालेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ४ : ०८ बजे