६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नयाँबानेश्वरबाट ठगी अभियोगमा दुई जना पक्राउ



२५ जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका १० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रु पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रु चार लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जाजकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ  ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।