गण्डकी
२६ जेठ । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् ।
त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताएकी छिन् । उनका अनुसार नेपालीका लागि रु एक सय र विदेशी नागरिकका लागि रु एक हजार प्रवेश शुल्क तोकिएको छ । “विदेशी पर्यटकबाट टिकट शुल्क घटाउनुपर्ने सुझाव आएको र यो विषयमा नेपाल ट्रष्टको केन्द्रीय कार्यालयमा पनि जानकारी गराएको छ । प्रमुख मिजारले भन्न्,ि “टिकट दर संशोधन गर्ने कुरा भइरहेको छ, माथिबाट निर्णय भएर आउन बाँकी छ ।”
पर्यटन सम्बद्ध निकाय र संस्थाबाट पनि विदेशी पर्यटकका लागि तोकिएको शुल्कलाई केही घटाउनुपर्ने सुझाव आएको उनको भनाइ छ । आन्तरिक पर्यटक भने दैनिक सरदर तीन सय ५० को सङ्ख्यामा रत्न मन्दिर पुगेको तथ्याङ्क उक्त कार्यालयसँग छ । गत शनिबार मात्रै सात सय बढीले रत्न मन्दिर घुमेका थिए ।
सोमबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मन्दिर खुला हुने गर्छ । टिकट कक्ष भने ४ बजे नै बन्द हुन्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्रका लागि प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघण्टा रु १० हजार शुल्क तोकिएको छ ।
पूर्वराजपरिवारको शीतकालीन दरबारका रूपमा चिनिने रत्नमन्दिर गणतन्त्रको उदयसँगै १५ वर्षदेखि बन्द अवस्थामा थियो । पर्यटकीय गन्तव्यस्थलका विकास गर्ने ध्येयले पहिलोपटक उक्त दरबार सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिएको हो ।
नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा रत्न मन्दिर बनाउनुभएको थियो । राजसंस्थाको अन्त्यपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त दरबार विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्दै आएको थियो । दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला गरिएको छैन ।
दरबारका कोठा, भ¥याङदेखि भित्री संरचना साँघुरा छन् । एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ । दरबारले चर्चेकोमध्ये २८ रोपनी क्षेत्र मात्र अहिले सर्वसाधारणका लागि खुला गरिएको हो । पोखरा महानगरपालिका ६ फेवा किनारको गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ । रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ मा बनेको थियो । तीन तले दरबारमा ११ कोठा छन् । भुइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडिसी) बस्ने कोठा र आराम कक्ष छ ।
दोस्रो तलामा पाँच कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्य मात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यो बेलाका खेल सामग्री सुरक्षित छन् । दोस्रो तलामै युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो । सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा रहेको छ । बाहिरपट्टि आराम कक्ष र दृश्यावलोकनका लागि कौसी छ ।
हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठाहरूमा सजावट र उपहारका सामग्री राखिएको छ । राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री जतन गरिएको छ । भित्तामा पूर्वराजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रदेखि पूर्वयुवराज पारसका सन्ततिसम्मका तस्बिरहरू सजाइएको छ । नेपाली कला झल्काउने हस्तकलाका सामग्रीदेखि आकर्षक ‘पेन्टिङ’ हरू दरबारभित्र छन् । दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन् ।
काठ र ढुङ्गाबाट दरबार बनेको छ । दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स–साना कोठा छन् । सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । अहिले रणचण्डी गणले दरबारमा सुरक्षा पहरा दिइरहेको छ । एक सय ७४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर फैलिएको छ ।
रासस
प्रतिक्रिया