३० जेठ । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।
सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न आउनेको सङ्ख्या पनि बढिरहेको छ ।
बाजुराको ज्ञानोदय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएका शिक्षक मदन पौडेलले खत्याड गाउँपालिकाको मसानेसम्म सडक सञ्जाल जोडिएपछि एकै दिनमा रारा आउन सफल भएको बताएका छन् ।
पहिला पनि शैक्षिक भ्रमणमा राराताल आएको र तीन वर्ष पहिले रारामा शैक्षिक भ्रमण हिँडेर आउजाउ गर्दा पाँच दिन लागेको अहिले अहिले गाडीमा दुई दिनमै आउजाउ हुने भयोसञ्जाल बताउछन् । उनले १० कक्षामा अध्ययनरत १५ विद्यार्थी र तीन शिक्षक प्रतिव्यक्ति रु छ हजार खर्चिएर रारा भ्रमणमा आएको बताए । छात्रा जानकी तिमिल्सिनाले रारा घुम्न पाउँदा खुसी लागेको बताइन् ।
उनले भनिन्, “राराताल सफा, मनोरम र निश्चल रहेको देखेँ । रारा घुम्न पाउँदा खुसी लाग्यो ।” भ्रमणका क्रममा वनस्पति, जडीबुटी, चराचुरुङ्गी, माछाका साथै मठमन्दिर देखे पनि त्यसको विवरण र सङ्ग्रहालयको व्यवस्थापन नहुँदा धेरै जानकारी लिन नपाएको गुनासो उनले गरिन् ।
भ्रमणमा आउने आगन्तुकले राराको मध्यवर्ती क्षेत्रभित्र पाइने विभिन्न प्रजाति र यहाँको संस्कृतिका विषयमा सूचना लिन सहज होस् भन्ने उद्देश्यले निर्माण भएको सूचना केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठले निकुञ्जभित्र रहेका विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, चराचुरुङ्गी, माछाको विवरण सूचना भवनमा अभिलेख राख्नलाई अर्थ मन्त्रालयबाट रकमको व्यवस्थापन नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बताए ।
चालु आर्थिक वर्षमा रारातालमा भ्रमण गर्न आउने नेपालीको सङ्ख्या छ हजार सात सय २७ पुगेको छ । विदेशी पर्यटकको सङ्ख्या भने एक सय ७७ रहेको छ । भ्रमण गर्न आउने आगन्तुकबाट रु ११ लाख ६० हजार दुई सय राजस्व जम्मा भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
प्रतिक्रिया