३ असार । गोलभेंडा उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् । आइतबार बिहान गोलभेंडा लिएर कालिमाटी तरकारी बजार पुगेका किसानले उचित मूल्य नपाएपछि सडकमै गोलभेंडा फ्याँकेर विरोध जनाएका हुन् ।
किलोको ८ रूपैयाँमा गोलभेंडा बेच्नुपरेपछि फ्याँक्नुको विकल्प नभएको किसानहरुले बताएका छन् । उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेंडा फाल्ने किसानहरुको चेतावनी छ । अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेंडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेंडा ८ रुपैयाँमा।
यसैबीच कालिमाटीमा किसानले गोलभेंडा फालेर विरोध गरेको विषयले संसद्मा प्रवेश गरेको छ। आइतबार प्रतिनिधसभा बैठकको आकस्मिक समयमा नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले किसानलाई अनुदान र क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया