२६ असार । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी स्कूलको शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेका मेचीनगर नगरपालिका १० का बालकको आज मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्कीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले उक्त स्कूलका सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । विद्यालयको लापर्बाहीका कारण बालकको मृत्यु भएको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालको भनाइ छ ।
स्कूल भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापर्बाहीपूर्वक छोपिएको कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको उनको भनाइ छ । हाल ६३ जना अध्ययनरत उक्त स्कूल विसं २०७० मा गुरुङले स्थापना गरेका हुन् । विद्यालयमा पिजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।








प्रतिक्रिया