११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेयसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अभियोगमा शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट, इन्जिनियर पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, सब-इन्जिनियर दिपक सिंह बिष्ट तथा शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वभाविक रुपमा बढी मूल्यांकन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २६ लाख २ हजार ५ सय ५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी दिएको अख्तियारले बताएको छ । उनीविरुद्ध २६ लाख २ हजार ५ सय ५६ रुपैयाँ ११ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी सोही दफाबमोजिम बिगो रकम असुल उपर हुनसमेत मागदाबी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
यस्तै इन्जिनियर पाण्डेय, तत्कालीन इन्जिनियर धामी र सब-इन्जिनियर बिष्टले उक्त सडक खन्ने कार्यमा अस्वभाविकरुपमा बढी मूल्यांककन गरी नापी किताबमा चढाई हस्ताक्षरसहित सहमति जनाइ निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन बनाएर बढी भुक्तानी दिएको अख्तियारले बताएको छ ।
पाण्डेयविरुद्ध ११ लाख ३० हजार २ सय ७२ रुपैयाँ ६७ पैसा, धामीविरुद्ध १४ लाख ७२ हजार २ सय ८३ रुपैयाँ ४३ पैसा र बिष्टविरुद्ध २६ लाख २ हजार ५ सय ५६ रुपैयाँ ११ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी सोही दफाबमोजिम बिगो रकम असुल उपर हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
त्यस्तै उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी, सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीलाई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्यको मूल्यांकन गराई वास्तविकरुपमा भएको कार्यभन्दा बढीको भुक्तानी लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया