५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


प्याजमा कालो बजारीपछि ललितपुर र काठमाडौंका पाँच व्यापारीलाई कारबाही



 

४ भदौ । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ ।

प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै वाणिज्य विभागले आज दिनभरि तीन वटा टोली परिचालन गरेर राजधानीको ललितपर र काठमाडौंको बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यासाय सञ्चालन गरिरहेका व्यापारीलाई जनही रू २० हजार, दुई वटा व्यापारीलाई जनही रू ५० हजारका दरले कारबाही गरिएको छ भने चार वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर ललितपरको एकान्तकुना, काठमाडौंको कालीमाटी, बल्खुलगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको थियो ।
भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उनले जानकारी दिएका छन् ।

एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ ।

भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ ।

काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि आज कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० ले घटेको उनको भनाइ छ ।

वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो । उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँच वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृ अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए ।

A labourer sleeps on sacks of onions in a wholesale vegetable market during a government-imposed nationwide lockdown as a preventive measure against the COVID-19 coronavirus in New Delhi on March 26, 2020. (Photo by Sajjad HUSSAIN / AFP)

भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  २ : ३५ बजे