५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले खोल्यो यज्ञमती र चखुँचा खोला



१२ भदौ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ ।
खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका ६ का अध्यक्ष भुवन लामाले जानकारी दिए । काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो ।

गैरकानुनीरूपमा सुरु गरिएको यो कामलाई तत्कालीन कपन गाविसले वैधानिकता दिँदा अहिले समस्या आएको स्थानीयवासी चुडामणि कोइरालाले बताए ।

तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्वपदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनको भनाइ थियो । नदी पुरेर ढल बिच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्दै आएको थियो ।

महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ ।

खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ ।

महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताए ।

दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो । नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको छ ।

दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकाले समेत सहयोग गरिरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ५५ बजे