९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पाकिस्तानसँग नेपालको फराकिलो हार



१३ भदौ । एसिया कपमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । पाकिस्तानको मुल्तान स्टेडियममा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक रन २८ रन बनाए । सोमपाल ४६ बलमा ४ चौकाको सहयोगमा २८ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८ बलमा २६ रन बनाएर आउट भए । आरिफले ५ वटा चौका हिर्काए । त्यस्तै गुल्शन झाले २३ बलको मद्दतमा १३ रन बनाए । उनले एक छक्का हिर्काए । नेपालका लागि अन्य कुनै पनि खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुशल भुर्तेल ८, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ तथा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमा आउट भए । करण केसी ७ रनमा अविजित रहे ।

पाकिस्तानका लागि शदाव खानले ४ विकेट लिए । यस्तै हरिस रौफ र शाहीन शाह अफरीदीले २–२ विकेट लिए भने नसिम शाह र मोहम्मद नवाजले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमेदले शतकीय इनिङ खेले । बाबर आजम १ सय ३१ बलमा १ सय ५१ रन बनाएर आउट भए भने इफ्तिखर अहमेद ७१ बलमा १ सय ९ रनमा अविजित रहे । यस्तै मोहम्मद रिजवानले ५० बलमा ४४ रन बनाए भने फखर जमान २० बलमा १४ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले १० ओभरमा ८५ रन खर्चिएर २ विकेट लिए । यस्तै करण केसीले ९ ओभरमा ५४ रन दिएर १ विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चिएर १ विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्नेछ ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ४ : ४१ बजे