२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउन शुरु



२७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज आयोजित कार्यक्रममा ‘एचपिभी’का खोपको शुभारम्भ गर्दै उनले निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिए । “सीमित स्रोत र साधनका बाबजुत हामीले एचपिभी खोप लगाउन सुरु गरेका छौँ”, उनले भने, “उमेर समूहलाई ध्यानमा राखेर दिने खोप, यो खोप ७७ जिल्लाका सबै महिला÷किशोरीले पाउनुपर्छ । निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीहरुले यो खोप पाउनुपर्ने हुन्छ, त्यसका लागि मन्त्रालय दृढताका साथ अघि बढ्छ ।”

मन्त्री बस्नेतले ‘एचपिभी’ खोप अस्पताललाई हस्तान्तरणपछि छजना किशोरीले खोप लगाए । मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोपको मात्र कम भएता पनि यसको समानुपातिक वितरण हुने जानकारी दिए ।

मन्त्रालयका अर्का सचिव देवकुमारी गुरागाईंले विश्व स्वास्थ्य सङ्गठनमा गरेको प्रतिबद्धताअनुसार रोगको उन्मूलनका लागि पनि खोप अपरिहार्य भएको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्राले पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने जानकारी दिँदै अभिभावक, विद्यालय र अस्पताललाई सहजीकरण गर्न आग्रह गरिन् ।

परिवार कल्याण महाशाखाको निर्देशक डा.विवेककुमार लालले देशभरका छवटा सङ्घीय अस्पताल र सुदूरपश्चिम प्रदेशका लागि डडेल्धुरा अस्पतालबाट सुर्खेत किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइएको हो । तर कोशी प्रदेशले बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

उक्त खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो । उक्त खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइँदै छ ।

आज मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेबाट खोप लगाउन सुरु भएको हो । यस्तै, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ ।

नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो । आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ ।

एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।