३१ भदौ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँ सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो ।
घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको बताएको छ । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको थियो ।
शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा विशाल राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । प्रहरीले रिसिबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसिइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।
राईलाई हत्या गरिसकेपछि अन्य तीन जनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको उनले बताए ।
प्रतिक्रिया