२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कस्तो छ चलचित्र ‘एक भागवत र एक गिता’ ?



अशोककुमार
१ असोज । नेपाली सिने बजारमा पछिल्लो समय एउटा विवादित चलचित्रको रुपमा ‘एक भागवत र एक गिता’ चिनियो । हिन्दुधर्ममाथि प्रहार गरेको आशंकाकै भरमा चलचित्र विकाश बोर्डमा निवेदन प¥यो अनि सहमतीपछि गत भदौं २९ गतेबाट चलचित्र प्रर्दशन भयो ।
नेपाली चलचित्र जगतका सफल अभिनेता विपिन कार्कीले अभिनय गरेको यस चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएसँगै चर्चा चुलिएको थियो । विवादले धेरै दर्शकमा ‘एक भागवत र एक गिता’ हेर्ने हुटहुटी झन् बढेको थियो ।
चलचित्र ‘एक भागवत र एक गिता’ यौनिक तथा अल्पसंख्यक(तेश्रो लिंगी)को नितान्त फरक कथामा बनेको छ । समाजमा रहेको हेपिएका र पेलिएका बर्गको कथालाई निर्देशक झरना थापाले पर्दामा उतार्ने आँट गरेकी छिन् । विशुद्ध प्रेम कथा हेर्ने दर्शकका लागि यो चलचित्र नौलो लाग्न सक्छ ।
चलचित्र जनकपुर केन्द्रित छ । तर पोखरा नजिकको एक गाँउ पनि जोडिएको छ । विपिन कार्की शरिर पुरुषको मन महिलाको भएको यौनिक अल्पसंख्यक पात्रको रुपमा देखाइएको छ ।
यौनिक तथा अल्पसंख्यकको भूमिकामा विपिन कार्की कमलामाईको भूमिकामा छन् । उनको मैथली लवज भेषभूसा र हाउभाउले दर्शक मन्त्रमुग्ध बनाउन सफल छन् ।
मधेसकी चेली गिताकोको भूमिकामा सुहाना थापाको अभिनय हेर्नलायक छ । तर उनको मैथली लवज भने ठाँउ ठाँउमा बनावटी सुनिन्छ । निर्देशक झरना थापाले छोरी तथा अभिनेत्री सुहानालाई शिर्ष भूमिकामा उतारेकी छिन् । उनले थप मेहनत गर्ने ठाँउ भएपछि पहाडिया दर्शकलाई बिझाउदैन ।
चलचित्रमा धिरज मगरको अभिनय सामान्य छ । उनले पात्रलाई न त विशेष अभिनय क्षमताले तिखारेका छन् । न त उनलाई निर्देशक थापाले नयाँ चरित्रको रुपमा पर्दामा उतारेकी छिन् ।
कविर खड्काले चलचित्रमा खलपात्रलाई यतार्थ ढंगले उतारेका छन् । बाल कलाकारको भूमिकाको रुपमा जेभिस र जेनिसले चलचित्रमा भागवतको भूमिका निभाएका छन् । जुन सामान्य नै लाग्छ ।
चलचित्रले तपाईसँगै पहाड जोडेको छ । जनकपुर र पोखरालाई सिनेमेट्रोग्राफरले सुन्दर ढंगबाट देखाएका छन् । उनले हरियाली पहाड र माछापुच्छ्रेको दृश्य क्यामेरामा लोभलाग्दो तरिकाबाट खिचेका छन् । मित्र गुरुङको सम्पादनले चलचित्रलाई झन् राम्रो बनाउन सघाएको छ ।

चलचित्रमा अधिकाँश ठाँउमा मैथली भाषाको प्रयोग गरिएको छ । चलचित्र हेर्दा ठाँउ ठाँउमा भाषाको समस्या पर्नसक्छ । तर निर्देशकले नेपाली भाषा समेत मिसाएर सन्तुलन मिलाउने कोशिष गरेकी छिन् ।
निर्देशक झरनाले हाम्रै समाजमा थिचिएको र हेपिएको एउटा वर्गको कथा उठान गरेर चलचित्रमा देखाउन खोजेकी छिन् । अर्गानिक कथामा निर्माण गरिएको यो चलचित्र एउटा प्रयोग भएपछि खोजिनु पर्ने विषय भने पक्कै थियो ।
‘हामीमा के खरावी छ, न दिलमा राख्नु हुन्छ न त जातैमा राख्नु हुन्छ ?’, ‘केही लडाई सोच र विचारले जित्नु पर्छ’ र ‘हम खाली कमला माई नही छि, एक लडाई छि’जस्ता चलचित्रमा केही संवाद सशक्त छन् । जुन दर्शकको मन छुन्छ ।
चलचित्रको नाम सुन्दा धार्मिक आश्थामा आधारित छ कि भन्ने लाग्छ तर चलचित्रमा धर्मको विषयमा छोएको छैन । सास्कृतिक धरोहर जानकारी मन्दिर देखाइएको छ । चलचित्रमा सामाजिक समस्याको रुपमा तिरस्कृत लैगिक अल्पसंख्यकको समस्या उजागर गरिएको छ ।
चलचित्रमा प्रयोग भएको ‘झिझनिया’ गीतले जनकपुरको असली स्वाद दिन्छ । ‘के तिमीलाई खबर छ’ बोलको गीत पनि सुमधुर नै लाग्छ । चलचित्रभर मैथली बोल्ने सुहाना (गीता) गीतमा नेपालीमा मुख चलाइरहेको दृश्यय दर्शकलाई असहज महसुस हुन्छ । निर्देशक झरनाले यहाँनिर गल्ती गरेकी छिन् ।
चलचित्रको दृश्य संख्या गणना गर्दा अभिनेत्री सुहाना हावी छिन् । तर अभिनयको हिसावमा विपिन अव्वल छन् । चलचित्रको ठाँउ ठाँउमा विझाउने दृश्य छन् । आफूसँगै गाँउ ल्याएका सुहाना र जेभिसलाई अपमान गरेको दृश्यले कुनै अर्थ दिदैन ।
कमजोर कथा र प्रस्तुती हेरेर वाक्क दिक्क भएका दर्शकका लागि एउटा गतिलो चलचित्र प्रर्दशनमा आएको छ । हलसम्म पुगेर हेर्दा रमाइलो हुन्छ । चलचित्रले मनमा बिझ्ने गरेर पाठ समेत सिकाएर पठाउछ । हेर्दा हुन्छ ।

 

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ४ : २१ बजे