१४ असोज । काठमाडौंको (तीनकुने) शान्तिनगरस्थित बागमती नदीमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन्।
प्रहरी बृत्त नयाँ बानेश्वरका अनुसा आइतबार बिहान करिब १ः१२ बजेको समयमा बागमती प्रदेश ०२–०३९ प ११९७ नम्बरको मोटरसाइकल बागमती नदी छेउमा पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको थियो।
प्रहरीले घटनास्थलबाट मोटरसाइकलका चालक भक्तपुरको चागुनारायण–४ घर भएका २० वर्षीय सरोज गुरुङ र चागुनारायण–४ नै घर भएका १७ वर्षीय सुशील गुरुङलाई उद्धार गरेको थियो। उद्धार गरिएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।
घाइतेमध्ये १७ वर्षीय सुशीललाई आइतबार बिहान ४ः४० बजे चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २० वर्षीय सरोज गम्भीर घाइते छन्। दाहिने खुट्टा भाँच्चिएको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया