काठमाडौं, २२ असोज । इजरायलको युद्धग्रस्त सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गर्दै फोनमार्फत सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको जनाइएको छ।
प्रधानमन्त्रीले सक्दो छिटो उद्धारका लागि प्रयास भइरहेको बताउँदै तयारी अवस्थामा बस्न पनि भनेका छन्। बंकरमा रहेका विद्यार्थीले नेपाल सञ्चारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी अवस्थामा राखिएको भन्दै धैर्य गर्न आग्रह गरेको जनाइएको छ।
प्रधानमन्त्री अघि परराष्ट्रमन्त्री साउदसँग पनि कुराकानी भएको जनाइएको छ। परराष्ट्र मन्त्री साउदले पनि इजरायल दूतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिएका छन्। मन्त्री साउदले दूतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको जानकारी विद्यार्थीलाई दिएको जनाइएको छ।








प्रतिक्रिया