२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै



२६ असोज । ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ। जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले जानकारी दिए।

आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो। लिङ्गो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उनले बताए।

विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले सुनाए। जात्राका लागि लिङ्गोको रुख काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकायबाट आदेश पूरा गरेर आज रातिसम्म लिङ्गो टेकु पु¥याइने भएको छ। आश्विन शुक्ल चौँथीका दिन लिङ्गो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ।

यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ। अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिङ्गो ढालिन्छ। मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ। उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।