२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनाङ एयरका पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगिने



काठमाडौँ
२७ असोज । आज भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ ।

सेढाईँको उपचार भइरहेको ह्याम्स अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो । अस्पतालका अनुसार आज राति विमानमार्फत थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

आज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो । उनको उपचार इमर्जेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डा सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

“उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।