२८ असोज । सन् ७० दशकको उत्तरार्द्धमा यटखा टोलको अरखु बहीबाट चोरिएको सारीपुत्र/मोद्गललायनको प्रस्तर मूर्ति अस्ट्रिको भियनास्थित एक निजी लिलाम गृहमा भेटिएको छ ।
चोरिएका/हराएका सम्पदाको खोजबिन र घरफिर्तीमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, भियनाको ग्यालरी जेक अक्सनमा यो मूर्ति २०१८ डिसेम्बर ८ मा बिक्री भएको पाइएको छ । सत्रौं शताब्दीको मानिने यो सम्पदाको स्वीस कला अन्वेषक उल्रिच भोन स्क्रोडरले सन् १९७६ मा तस्बिर लिएर आफ्नो कृति ‘नेप्लिज स्टोन स्कल्प्चर्स’मा प्रकाशित गरेका छन् । लिलाम गृहले यो सम्पदालाई १४/१५ शताब्दीको देवी प्रतिमा भनेर उल्लेख गरेको छ ।
यसअघि, सन् ७० पूर्वाद्ध दशकमा चोरिएको मानिने लगन टोलस्थित कीर्तिपुन्य महाविहारबाट चोरिएको सारीपुत्र/मोद्गललायनको स्वर्ण आकृति भियनाको यही ग्यालरीमा फेला परेको थियो । भगवान् बुद्धका सर्वश्रेष्ठ र निकटवर्ती दुई शिष्य भनेर चिनिने सारीपुत्र तथा मोद्गललायनको निर्मित मूर्तिको अवस्थितिबारे थाहा भएपनि मूर्तिमा रहेको आकृति सारीपुत्र तथा मोद्गललायनमध्ये कसको हो भन्ने खुट्याउन भने सकिएको छैन ।
प्रतिक्रिया