ललितखबर
२९ असोज । तपाईलाई लोक संगीत मनपर्छ अनि रुदै चलचित्र हेर्न मनपर्छ भने खुशीको कुरा, चलचित्र परदेशी २ यही शुक्रबारदेखि चलचित्र भवनहरुमा चलिरहेको छ ।
नेपाली लोकसंगीत क्षेत्रका चर्चिक श्रष्टा नारायण रायमाझीले निर्देशन गरेको चलचित्रमा पछिल्लो पुस्ताका विख्यात गायक प्रकाश सपुत अभिनेताको रुपमा यस चलचित्र मार्फत झुल्केका छन् । उनलाई अभिनेत्री केकी अधिकारी र बर्षा सिवाकोटीले साथ दिएका छन् ।
चलचित्रले प्रेम कथासँगै विदेश बस्दा पारिवारिक समस्याको उल्झन देखाइएको छ ।
चलचित्रमा प्रकाश सपुतको अभिनय हेर्न लायक छ । बर्षा र केकीको अभिनय पनि स्वभाविक लाग्छ । दिलिप र प्रशान्तको अभिनय बनावटी लाग्छ । परदेश रहेको छोरो सम्झेर रमा थपलिया रुदा धेरैको आँखा ओभानो रहँदैन । चलचित्रमा निर शाहको अभिनय अन्य चलचित्रमा भन्दा फरक लाग्छ ।
उच्च शिक्षाका लागि परदेश जाने नयाँ पुस्ताको पछिल्लो सोचलाई चलचित्रमा उतारिएको छ । परदेश जाने संस्कारलाई पारिवारिक उल्झन र दोहोरो प्रेममा फसेर रनभुल्लमा परेका संस्कृती र लुजालाई चलचित्रमा देखाइएको छ ।
यद्यपी चलचित्रमा केही कमजोरी भेटिन्छ ।
रमेश विजीको कथाको श्रृखला भने ठाँउ ठाँउमा भत्केको छ । चलचित्रको कथालाई हेर्दा दर्शकलाई रुवाउन र परदेश जानुको पिडा बर्णन गर्न चलचित्र बनाएको भान हुन्छ ।
चलचित्रमा प्रशान्त तामाङको उपस्थिती किन र के का लागि ? भन्ने प्रश्न चलचित्र हेर्ने जो कोही दर्शकको मनमा आउँछ । सञ्चारकर्मी कृष्ण कँडेलको भूमिका पनि चलचित्रमा बेतुकको देखिन्छ । दिलिप रायमाझी पनि चलचित्रमा पात्रको रुपमा अलपत्र देखिन्छन् । चलचित्र एउटै कथामा बगेको छैन बेला बेलामा नयाँ नयाँ पात्र आउँछन् अनि बीचैमा विलाउछन् । उनीहरु चलचित्रमा किन आए र गए ? पत्तै हुँदैन । उनीहरुको भूमिका चलचित्रको मुल कथासँग जोडिएको छैन ।
चलचित्रमा संस्कार अमेरिकाको सुपरमर्केटमा काम गर्दा लुटिएको दृश्य देखाइन्छ । त्यो लुटिएको दृश्यपछि उनलाई के भयो ? कसले लुटेका हुन् ? जस्ता प्रश्न चलचित्र हेर्ने दर्शकको मनमा आउछ । जसको कुनै उत्तर चलचित्रले दिएको छैन । यस्ता दृश्य चलचित्रमा बग्रल्ती छन् । जहाँ निर्देशक रायमाझी चुकेका छन् ।
अभिनेता प्रकाश सपुत ‘संस्कार’ले चुलबुले युवकको रुपमा पर्दामा देखिएका छन् । केही अधिकारी डाक्टरको रुपमा शहरिया युवती बनेकी छिन् । चलचित्रमा बर्षा सिवाकोटी लुजाको अगमनपछि चलचित्रको कथाले नयाँ मोड लिएको छ ।
चलचित्रमा नयाँ खाले गीत संगीत भेटिदैन । छोटा लोक गीतको विभिन्न अंश बीच बीचमा आउँछन्, हराउछन् । न त गीतको मज्जा लिन पाइन्छ । न मुखमा झुण्डिने कुनै गीत नै चलचित्रमा छ । ‘हजुरको फोन आथ्यो आमा उठाउन पाइन’ जस्ता गीतको बोल चलचित्रमा सुन्दा रंग न ढंगको गीति कथा चलचित्रमा थोपरिएको भान हुन्छ । गीति कथा लयात्मक र गेयात्मक छैन ।
चलचित्रमा गाडी चढेर हतार हतार खिचिएको अमेरिकाका सडक र ठूला ठूला भवनहरुको दृश्य छन् । नेपालको दृश्य पोखरा र वरपरको गाँउपाखालाई भने सुन्दर ढंगले खिचिएको छ ।
निर्देशक रायमाझीले चलचित्रको कथा उठान गर्दा भूमिका लामो बनाएका छन् । मध्यान्तरसम्म कथाको भूमिका बर्णन गर्दैमा वित्छ । संस्कार अमेरिका जानुअघि साथीहरुसँगको भेटघाट र संस्कृतीको रोमाञ्चमै चलचित्रको धेरै समय खर्च भएको छ । चलचित्रको मुल कथा मध्यान्तरपछि छोट्याइएको छ । जुन लामो बनाउदा दर्शकलाई रोचक बन्थ्यो ।
चलचित्रमा मानकृष्ण महर्जनको सिनेमेट्रोग्राफी तारिफ योग्य छ ।
चलचित्र लोकसंगीत र रोनाधोना मन नपराउने दर्शक चलचित्र हेर्न उपयुक्त नहुन सक्छ । लोक संगीतलाई माया गर्ने जो कोही चलचित्र रमाइलो लाग्छ । कमजोरीको बीच चलचित्रमा समसामयिक कथा रहेकोले चलचित्रले दर्शकको मन छुन्छ । दर्शकलाई धेरै ठाँउमा दृश्य छन् । विदेशमा छोरा छोरी रहने व्यक्ती चलचित्र हेरेर धरधरी रुने निश्चित छ ।
प्रतिक्रिया