११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरले दुई महिनामै उठायो एक अर्ब कर



काठमाडौँ
१४ कात्तिक । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा महानगरले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो ।

राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । महानगरले ३२ वटै वडा कार्यलयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता सङ्ख्या बढेको बताइएको छ ।

त्यस्तै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्कलनमा सहज भएको छ ।
यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न महानगरको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख धु्रव काफ्लेले बताए ।
प्रत्येक वडा कार्यलयबाट राजस्व सङ्कलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व सङ्कलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए ।

हाल महानगरमा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको सङ्ख्या उल्लेख्य बढेको महानगरको भनाइ छ । हाल महानगरले करिब चार लाख करदाता रहेका छन् । हाल महानगरले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।

चालु आवका लागि महानगरले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड राजस्व असुल भएको छ ।

गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै एक हजार तीन सय करदाता थपिएका छन् । महानगराले बक्यौता रकम असुल गर्न छुट दिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : ११ बजे