५ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते जन प्रदर्शन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँको समूहलाई बल्ख क्षेत्र तोकिदिएको छ । प्रसाइँ समूहलाई बल्खुमा कार्यक्रम गर्न दिने भएको हो । नेकपा एमालेको युवा संघले तीन कुनेमा आफ्नो कार्यक्रम गर्ने जनाएको छ ।
प्रशासन, युवा संघ र प्रसाइँ समूहबीचको छलफल पछि प्रदर्शन गर्ने ठाउँ तोकिएको हो । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएपछि उसले त्यहाँ तयारी थालेको छ ।
माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका छन् ।
प्रशासनले मंसिर ७ गते चार वटै सुरक्षा निकाय परिचालन गर्दैछ । युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा गर्ने कार्यक्रमलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिको छलफलले प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा तथा नेपाली सेनालाई ब्याकअपमा राख्ने निर्णय गरेको छ । यसमा राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन हुनेछ ।
नेपाल प्रहरी अग्रभागमा, सशस्त्र प्रहरी फिल्डमा र नेपाली सेनालाई ब्याकअप फोर्सको रूपमा तयारी अवस्थामा राख्ने निर्णय सुरक्षा समितिले गरको हो ।
प्रशासन कार्यालयले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । उपत्यकाका तीन वटा जिल्ला सुरक्षा समितिले योजनाहरू बनाएर सूचना संयन्त्र बनाइएको छ ।
प्रतिक्रिया