६ मंसिर । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।
उक्त रकम गत आवको सोही अवधिको भन्दा रु. १७ करोडले बढी हो । महानगरपालिकाले गत आवको पहिलो चौमासिकमा दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर रु. ८१ करोड ९२ लाख र सम्पत्ति कर रु. ४१ करोड ८६ लाख असुल भएको छ ।
कामपाले चालु आवका लागि रु. १० अर्ब ८० करोड राजस्व असुलको लक्ष्य लिएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । ‘गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्’, उनले भने, ‘पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् ।’
अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए । कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ ।
लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्लग्नमा थप सहज भएको छ ।
प्रतिक्रिया