३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भुटानी शरणार्थी नेता रिजाल धरौटी बुझाएपछि जेलबाट छुटे



काठमाडौँ
११ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेल चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् ।

उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर आज रिहा भएका हुन् । उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि आज रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा बसेका थिए । गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका छन् ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसका छन् । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन् ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।