२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘चलचित्रमा नयाँ कलाकारलाई अवसर दिएपछि सास्ती’



 

काठमाडौँ
२२ पुस । नेपाली चलचित्रका पुराना निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार लिएर चलचित्र निर्माण गर्दा सास्ती खेप्नु परेको अनुभव सुनाएका छन् ।

भ्र्खरै निर्माण पुरा भएको चलचित्र ‘पर्खि बसेँ तिमीलाई’ मार्फत दुई नयाँ कलाकार अभिनेता किरण श्रेष्ठ र अभिनेत्री अभिनेत्री रक्षा बुढाथोकीलाई निर्देशक श्रेष्ठ चलचित्र क्षेत्रमा प्रवेश गराएका छन् ।

“अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ”, निर्देशक श्रेष्ठले भने, “मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु । किनकि हामी पुराना चलचित्रकर्मीले आँट गरेनौँ भने अरुले गर्दैनन् ।”

यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाए । “नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु”, निर्देशक श्रेष्ठले भने । उनले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गरे । नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताए ।

“मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकेँ । सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु”, अभिनेता श्रेष्ठले भने, “म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु । परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु ।”

अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताइन् । “मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ । सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ । यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु”, अभिनेत्री बुढाथोकीले भनिन् ।

चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको बताए । “मैले एउटा राम्रो चलचित्र बनाउने कोसिस गरेको हुँ । निर्देशकले नयाँलाई अवसर दिनुपर्छ भनेपछि प्रेमकथानक लिएर निर्माण गरेका छौँ”, निर्माता बुढाथोकीले भने ।

कार्यक्रममा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठ पनि उपस्थित थिए । चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईले पनि अभिनय गरेका छन् । चलचित्रलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : ४८ बजे