२४ पुस । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म काठमाडौं महानगरपालिकाले २ अर्ब ६६ करोड बढी राजस्व संकलन गरेको छ। सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको विवरण पेस गरेका हुन्।
सो कर १ लाख १९ हजार ४५९ जना करदातबाट संकलन भएको महानगरपालिकाले जनाएको छ। यसमध्ये ३५ हजार ५७ जना बहाल करदाता रहेका छन्। यस्तै ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाताले कर तिरेका हुन्।
यस वर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० पुगेको छ। गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक वर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ।
गएको वर्ष (आव २०७९/०८०) मा ३ लाख २४ हजार १२० जना करदाता रहेका थिए। जसमध्ये आर्थिक वर्षभरिमा १ लाख ९१ हजार ८८६ जनाले कर तिरेको महानगरले जनाएको छ। यस्तै १ लाख ३२ हजार २३४ कर नतिर्ने करदाताको संख्या रहेको महानगरको भनाइ छ।
सोमबार मात्रै ३ करोड ९४ लाख ५१ हजार राजस्व संकलन भएको थियो। यस्तै चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक आय, बाँडफाँटबाट प्राप्त राजस्व र समानीकरण, सशर्तजस्ता आन्तरिक अनुदानबाट प्राप्त गरी ४ अर्ब ५१ करोड ५२ लाख ८१ हजार ९४७ रुपैयाँ जम्मा भएको छ। यो लक्ष्यको ४१.७८ प्रतिशत हो।
समितिमा पेस भएको विवरण सुनेपछि समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, पुस मसान्त भित्र दिइएको छुटका बारेमा करदातालाई जानकारी दिएर सुविधामा पहुँच पुर्याउन विभागलाई आग्रह गरेकी छन्।
प्रतिक्रिया