३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्वमूल्यांकनमा काठमाडौं महानगरलाई ७८.५ अंक



१ माघ । ‘संस्थागत स्वमूल्यांकन’मा आर्थिक वर्ष ०७९/८० मा काठमाडौं महानगरपालिकाले ७८.५ अंक प्राप्त गरेको छ। पुस २९ गते बसेको नगर कार्यपालिका बैठकमा लिजा समितिका तर्फबाट प्रशासन विभागका प्रमुख दीपक अधिकारीले मूल्यांकनका सूचक, सूचकहरूको पूर्णांक र प्राप्त अंकसम्बन्धी विवरण पेस गरेका थिए। सो प्राप्तांकलाई बैठकले अनुमोदन गरेको हो।

आर्थिक वर्ष ०७७/७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष ०७८/७९ मा ५७.२५ मा पुगेको थियो। विगतको अवस्थामा सुधार गर्दै महानगरले आव ०७९/८० मा ७८.५ अंक प्राप्त गरेको हो।
०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्यांकन हुन्छ। यी सूचकहरूमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अंक भार राखिएको छ। यसलाई १० वटा विषय क्षेत्रमा वर्गीकरण गरिएको छ।

यी सूचकमध्ये ९ पूर्णांकको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अंक प्राप्त गरेको छ। यस्तै, ८ पूर्णांकको संगठन तथा प्रशासनमा ५.७५, ११ अंकको वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७.५, ११ अंकको वित्तीय एवं आर्थिक व्यवस्थापन र १० अंकको सामाजिक समावेशीकरणमा ८ प्राप्त गरेको छ। १६ अंकको सेवा प्रवाहमा १२.५, ७ अंकको न्यायिक कार्य सम्पादनमा ६ र १३ अंकको भौतिक पूर्वाधारमा ९.७५ अंक पाएको छ। ९ अंकको वातावरण संरक्षण तथा विपत् व्यवस्थापन ५.५ र ६ अंकको समन्वय सहकार्यमा महानगरले पूर्णांक प्राप्त गरेको छ।

स्वमूल्यांकन प्रणालीमा स्वाभाविक अंक मात्र दाबी गरिने र माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्यांकन गर्दा अंक नघटोस् भन्ने मूल्यांकनका क्रममा ख्याल गरिएको महानगरले जनाएको छ।
आव ०७९/८० को मूल्यांकनका लागि उपनिर्देशक गंगाधर गौतमको संयोजकत्वमा लिजा संयोजन समिति गठन गरिएको थियो। समितिका सदस्यहरूमा वरिष्ठ शाखा अधिकृत रामप्रसाद सापकोटा, वरिष्ठ शाखा अधिकृत प्रमोदकुमार पोखरेल, वरिष्ठ शाखा अधिकृत सोमबहादुर राना, सूचना प्रविधि अधिकृत विकास ओझा थिए भने समितिको सदस्य सचिवमा तथ्यांक अधिकृत कृष्णराज तिवारी रहेका थिए।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : ५१ बजे