५ माघ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्न समेत प्रदान गरेको छ ।
तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सो अवसरमा उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको पनि उपस्थिति रहेको थियो । नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको नगरप्रमुख गिरीले जानकारी दिए । नगर प्रहरी प्रमुखको परीक्षामा कोही उत्तीर्ण हुन नसकेपछि पुनः आवेदन खोलिने जनाइएको छ ।
अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने र नगरप्रहरीका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने नगरप्रमुख गिरीले बताए । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा नगर प्रहरीलाई तालिम प्रदान गरिएको थियो ।
प्रतिक्रिया