२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कानुनविपरीत न्यायाधीश बढुवा गरिएको दाबी



काठमाडौँ
४ माघ । नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुनविपरीत न्यायाधीश बढुवा गरिएको दाबी गरेका छन् । उनले कानूनविपरित न्यायाधिशको बढुवा गरिएको भन्दै सो विषयमा बारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले नेपालको न्यायालयको साख जोगाउन स्वतन्त्र र पारदर्शी ढङ्गले काम गर्नकै लागि बार जरुरी भएको बताए ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बेञ्च र बारबीच समन्वय गरी न्याय मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिएकी छिन् ।
उच्च अदालत बार एशोसिएशन पाटनको २७औँ वार्षिक साधारणसभामा आज न्यायाधीश प्रधानले कुनै विषयमा समस्या भए मिलेर समाधान गर्नुपर्ने तर न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताएकी हुन् । उनले छिटो छरितो न्यायका लागि बारको समन्वय, सहयोग र समझदारीको भूमिका महत्वपूर्ण हुने र आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताइन् ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले पुराना मुद्दाको पेसी स्थगन नगर्ने, बार र बेञ्चको सम्बन्ध सेवाग्राहीको हितमा हुनुपर्नेमा अदालतले ध्यान दिएको बताएका छन् । उनले फैसला लेखनलाई तीव्रता दिने र फैसला लेखनलाई दुई महिनाभित्रै सक्ने प्रत्यन्त भइरहेको जानकारी दिए ।

स्वतन्त्र, सक्षम, निष्पक्ष तथा विकृति र विसंगतिरहित न्यायपालिका, विधिको शासन, मानव अधिकारका विषयमा बारले निरन्तर खबरदारी गर्दै आएको भए पनि हालैका दिनमा यसको मर्मविपरीत काम भइरहेकाले स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुग्न गएको बारको दाबी छ ।

बारले गत असोज १ गते जारी भएको न्याय परिषद् नियमावली, २०७४ (पहिलो संशोधन, २०८० ले न्यायाधीशको वृति विकास र क्षमतामा प्रभाव पार्ने गरी न्यायाधीशहरुको रोलक्रममा फेरबदल हुने कार्य भएको दाबी गर्दै त्यसलाई खारेज गरी साविककै व्यवस्था कायम राख्न तथा संविधानको मर्मविपरीत नहुने गरी संशोधन गर्न न्याय परिषदसँग माग गरेको छ ।

बारले अदालतमा कारबाही चलिरहेको तथा अनुसन्धानका क्रममा रहेका मुद्दाका सम्बन्धमा अदालतबाट न्याय निरुपण नहुँदै मुद्दाको अनुसन्धान तथा सुनुवाइमा प्रतिकूल असर पर्ने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।