२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायिका निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक



काठमाडौं
१४ माघ । लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरत रूपमा नेपाली गीतसंगीतमा लागिरहेकी निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । ्
गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएको गीतको भिडियो काठमाडौंमा एक विशेष समारोहबीच बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।

गायिका आचार्य, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्यलगायतकाको सहभागिता थियो ।

अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउँदै सार्वजनिक गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताए । गीतकार संघका अध्यक्ष थापाले राम्रो गीत र भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । यस्तै अन्य अतिथिले शुभकामना मन्तव्य राखेका थिए । गायिका बुबा सुरेन्द्र आचार्यले आफ्ना भनाई राख्दै छोरीलाई बधाई तथा शुभकामना दिएका थिए ।

संगीतकार शंकर थापा स्माइलले स्वागत मन्तव्य राख्दै गीतको रेकर्डिङदेखि भिडियो बन्दा सम्मका विभिन्न अनुभव सुनाएका थिए । कार्यक्रममा अतिथि र गीत एवम् भिडियोसँग सम्बन्धित स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो ।

गायिका आचार्यले आफू जहाँ भएपनि गीत संगीतसँग जोडिने बताउँदै छिट्टै अर्को गीत पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी थिइन् ।

डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ ।

केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । गीतको भिडियो निता आचार्यअफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : २५ बजे