६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निफको जुरीमा प्रदीप खड्का, दीया मास्के र किशोर आचार्य



१४ माघ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् । निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्मतर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी गराए । खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् । साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।

आगामी चैत १ देखि ५ सम्म काठमाडौंमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो । तत् तत् विधामा दुई जना जुरी विदेशी चलचित्रकर्मी हुनेछन् । विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराएका छन् ।

निफका अध्यक्ष पाठकले अघिल्लो सालका विजेताहरु महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको र उनीहरुले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको जानकारी गराए ।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ५८ बजे