२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर लेलेबाट छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा युवक पक्राउ



१८ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ६ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका ४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइबा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो ।

वाइबालाई ललितपुरको लेलेबाट पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वाइबाले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाइदिन्छु भनी प्रलोभनमा पारी छ सय जनाभन्दा बढी व्यक्तिहरुबाट करोडौँ रकम ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

वाइबाले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरुलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ । साथै २०७७ सालमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, २०८० वैशाखमा आफूलाई विकाश वाइबा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको तथा विकास वाईवाको नामबाट बैंक खाता खोली आफैले हस्ताक्षर गरी बैँक तथा वित्तीय संस्थामार्फत आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका वाइबाले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडाका लागि रु १८ लाख, माल्टाका लागि रु आठ लाख, पोल्याण्डका लागि रु सात लाख र क्रोशियाका लागि रु छ लाख ५० हजारका दरले ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले जानकारी दिए । उनका अनुसार वाइबाले ६ सयभन्दा बढी सर्वसाधारणबाट रु ५० हजारदेखि रु पाँच लाखसम्म रकम लिएको देखिएको छ ।

वाइबाले ठगी गरेको रकमबाट रु चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा रु १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको रु १५ लाख ऋण तिरेको तथा रु ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।