रामपुर
२ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ ।
आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।
मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन ।
तिनाउँ गाउँपालिका ६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ दुर्घटना भएको थियो । आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ ६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका १४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन् ।
यसैगरी तिनाउँ २ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका ५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया