८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


ढोरपाटनमा व्यापक हिमपातपछि जनजीवन कष्टकर



 

ढोरपाटन (बागलुङ)
११ फागुन । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।

हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउछन् । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

“बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भने, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।”

गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् ।

ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । हिमपातले जनजीवनमा सामान्य असर परेको उनले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ३३ बजे