१३ फागुन । फुटबलर मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । डाँगी नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् ।
फागुन ६ मा भएको चोरीमा संलग्न आरोपमा पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ६ घर भएका अनुप तामाङ, रविन तामाङ र ललितपुरको गोदावरी नगरपालिका ६ लेले टिकाभैरव घर भएका राजन श्रेष्ठ छन् ।
अनुपको योजनामा फुटबलरको घरमा चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फुटबलरको घर नजिकै अनुप तामाङको फुपूको घर छ । फुपूको घरमा जाँदा आउँदा अनुपले फुटबलरको घरमा रेकी गरेका हुन् ।
मनिषको परिवारले घर बाहिर जाँदा गमलामा साँचो राखेको अनुपले देख्छन् । फुपूको कुकुर डुलाउन जाँदा र फर्कँदा रेकी गर्ने अनुपले साँचो सधैँ गमलामा राखेको यकिन गरेपछि त्यसबारे रविन तामाङसँग सल्लाह गर्छन् । त्यसपछि दुईजना मिलेर चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
राजन श्रेष्ठले चोरीमा संलग्न आरोपीहरूलाई सेल्टर दिएको अनुसन्धानमा संलग्न डिएसपी चक्र मल्लले बताए । आरोपीहरूले ४५ लाख चोरी गरेको पीडित परिवारले प्रहरीलाई बताएका छन् ।
प्रतिक्रिया