६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी गर्ने काठमाडौंबाट चार जना पक्राउ



२० फागुन । अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट चार युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका( ४ घर भई हाल काठमाडौँको पुरानोबानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका ११ घर भई हाल भक्तपुरको गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक राम र पर्साको वीरगन्ज महानगरपालिका १५ घर भई भक्तपुरको गठ्ठाघर बस्दै आएका २४ वर्षीय आकाश साह सोनार छन्।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो। उनीहरुले फेसबुक, ह्वाट्सएप, ईमो, भाइवर, टिकटक, इन्ट्राग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन ठगी गरेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

उनीहरुले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क स्थापित गरेर महँगा मूल्यका मोवाइल, आईफोन, सुनका गहना, जुत्ता र कपडा विदेशबाट मागाइदिने, विदेशमा आकर्षक तलबसहितको जागिर लगाइदिने लगायतका प्रलोभनमा पारेर ठगी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरुको साथबाट सात थान मोवाइल सेट, १६ थान सिमकार्ड, २१ थान विभिन्न बैंकका एटीएम कार्ड, १६ थान विभिन्न बैंकमा रकम डिपोजिट गरेका रसिद, ४ थान चेक, राहदानी, सवारी चालक अनुमति पत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।