२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर



८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शंकरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी रू तीन करोड ७७ लाख १३ हजार छ सय ४६ बराबर छ । यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले रू छ करोड ९८ लाख ४६ हजार छ सय तीन बराबर खर्च गरेको पाइएको छ ।

आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार आयोगले रू तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ ।

आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।