२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पर्वतको कुर्घामा सय मिटर लामो गुफा भेटियो



पर्वत
११ चैत ।  पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ ।
कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् । गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’ नाम राखेका छन् । यहाँभित्र विभिन्न धातुबाट बनेका मूर्ति पनि भेटिएका छन् ।
आजभन्दा २५–३० वर्षअघि नै गुफा भेटिएको भए पनि स्थानीयले खासै चासो दिएका थिएनन् । सामान्य प्वालजस्तो ठानेर स्थानीयवासीले बेवास्ता गरेको भए पनि पछिल्लो समय स्थानीयले खोजी गर्दा विशाल गुफा भेटिएको स्थानीय अगुवा भवानीप्रसाद शर्माले बताए ।
गुफा भेटिएसँगै स्थानीय यसको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् । यसको उचित ढङ्गले प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताइन् । उनले भनिन्, ‘गुफाभित्र विभिन्न देवीदेवताका आकृतिमात्र नभई धातुबाट बनेका मूर्ति भेटिएकाले यसले पौराणिक र ऐतिहासिक महत्व बोकेको हुनसक्ने भन्दै अनुसन्धान गर्नुपर्छ ।’
उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्ने भएकाले पनि यसले जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने स्थानीय मेघराज लम्सालले बताइन् । यो गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके कालीगण्डकी करिडोर हुँदै भारत र चीनको स्वशासित क्षेत्र तिब्बत आवतजावत गर्ने पर्यटकका निम्ति आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ ।
स्थानीयवासीले आगामी नागपञ्चमीमा विशेष पूजाआजा गरी यसको प्रचारप्रसार तथा भौतिक पूर्वाधार निर्माणमा अघि बढ्ने योजना बनाएका छन् । पूर्वाधार निर्माण गर्न समिति बनाएर तीनवटै तहका सरकारसँग योजना माग गरिने लम्सालले जानकारी दिइन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।