२२ चैत । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)काे चरित्र हत्या गरेकाे भन्दै प्रहरीले महानगरपालिकाका एक कर्मचारीलाई पक्राउ गरेकाे छ । महानगरपालिका अन्तर्गत स्वास्थ्य विभागमा काम गर्ने रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको हो ।
यसअघि मेयर बालेनले पौडेललाई पुष २६ गते निलम्बन गरेका थिए । साेहि आवेगमा पाैडेलले मेयर बालेन विरूद्ध सामाजिक संजालमा स्टाटस लेखेका थिए ।
उनले लेखेका थिए, ‘मेयर बालेनले नियुक्त गरेका १६६ जना र निजहरूले २ वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ यो नगरवासीले तिरेको कर हो, उनको नियत नै रहेछ, उटपट्याङ गरी रहौँ, आखिर म त लोकप्रिय हुन्छु ?? अरू ३ करोड नेपालीलाई सामाजिक सञ्जालबाट मूर्ख बनाउँछु’ ।
जसपश्चात सम्मित पोखरेलले मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा पौडेलविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएका थिए । मेयर बालेनको नैतिक शिष्टाचारविरुद्धको सामग्री वा घृणा फैलाउने खालको सामग्री पटक पटक सम्प्रेषण गरेको भन्दै पाेखरेलले जाहेरी दिएका हुन् । साेहि जाहेरीकाे आधारमा पाैडेल पक्राउ परेका हुन् । हाल जिल्ला अदालतमा पाैडेलविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दायर गरिएको छ ।








प्रतिक्रिया