२६ चैत । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।
यसैबीच आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
सोमबार साँझ आगलागीस्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले समिति बनाएर छानबिन गर्न सुझाव दिएका थिए ।
आइतबार अपराह्नतिर भएको आगलागी विद्युत् सर्ट भएर हुन सक्ने आशंका गरिएको छ । आगो नियन्त्रणमा लागि नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार स्टोरमा देशभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको थियो ।
प्रतिक्रिया