७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ महानगरपालिकाले दियो सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी



काठमाडौँ
४ वैशाख । काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताएकी छिन् ।

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने उनले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ । “यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ”, उपप्रमुख डङ्गोलले भनिन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ०५ बजे