६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मनसरा’ : कथाले बाटो विराएको चलचित्र



चलचित्रको ट्रेलर हेरेर चलचित्र हेर्न जाने दर्शक निराश हुने अवस्था छ । जति राम्रो ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र त्यस्तो छैन

ललितखबर
२३ वैशाख । ददिराम पोखरेल एउटा सामान्य किसान । ललितपुरको नख्खु खोला किनारमा जस्तापाताले बेरेर बनाइएको गोठमा भैसी पाल्छ । संगै अर्को टहरामा एकल महिला मनरानी लिम्बु बंगुर पाल्छे । उनीसँग एउटा सानो छोरा छ अनि ददीरामसँग नेवार श्रीमतीसँगै बस्छे ।
चलचित्र मनसराको कथा हो यो । शहरको एउटा सामान्य कथालाई लिएर निर्माण गरिएको चलचित्र मनसरा पछिल्लो शुक्रबारबाट देशभर प्रर्दशन भइरहेको छ । यिनै दुई परिवारको मायाँ प्रेम नोकझोकसँगै चलचित्र सुरु हुन्छ । नख्खु खोलाको बगरबाट सुरु भएको चलचित्र यहीबाट सकिन्छ ।
चलचित्र ‘जारी’को निर्देशनपछि चर्चामा आएका साहित्यकार उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘मनसरा’ चलचित्रले समाजका धेरै समस्या छरपष्ट पारि दिएको छ ।
पछिल्लो पुस्ताले सामना गर्दै आएको बाँजोपन, पारिवारिक विखण्डनले निम्त्याइएको एकल महिलाको संर्घष, अन्तरजातीय विवाहपछि हुने पारिवारिक मतभेदलाई चलचित्रले ज्यादै सरल तरिकाले भनेको छ । पारिवारिक पिरवन्दलाई चलचित्रले सरल ढंगबाट उठाएको छ तर जति सरल ढंगले समस्या उठाइएको छ उस्तै ढैगले तार्किक निश्कषमा भने पु¥याएको छैन ।
मान्छेको जीवनमा अनेकन् झमेला आईपर्छन् । तिनै झमेलाहरुलाई चलचित्रमा उनिएको छ । महिलाको मनोदशा, भावना र चरित्रलाई चलचित्रले टपक्कै टिपेर देखाएको छ । अक्सर श्रीमानसँग श्रीमतीहरुले देखाउने व्यावहारलाई चलचित्रमा नलुकाई देखाइएको छ ।
चलचित्रको संवाद सशक्त छन् । यतार्थपरक लाग्ने कथालाई डकुमेन्ट्री शैलीमा चलचित्र बनाइएको छ । चलचित्रमा कोही हिरो लाग्दैनन्, न त भिजेन जस्ता नै । चलचित्रमा गानाबजाना र रोनाधोना छैन् । चलचित्रमा लवस्टोरी छैन । विशुद्ध सामाजिक कथामा चलचित्र ‘मनसरा’ निर्माण गरिएको छ ।
कमजोरी
दुई घण्टा १८ मिनेटको चलचित्रले एकै पल्ट धेरै विषय उठान गर्दा चलचित्रको कथाले बाटो बिराएको छ । कथा सलल बगेको छैन । ददीरामको भैसी गोठ बेच्ने प्रसंग होस वा बाँजोपनको उपचारको प्रसंग, अलपत्र छोडेर कथा अघि बढेको छ । कथाकार सुव्वाले कथा उन्ने क्रममा समस्या उठान गरेका छन् । अनि अलपत्र छोडेका छन् ।
लिम्बु संस्कृती र परम्परालाई चलचित्रको बीच बीचमा घुसाइएको छ । जुन प्रसंग र कथासँग मेल खाँदैन । झुपडीमा लिम्बुहरुको नाच बेतुकको लाग्छ । लिम्बुको संस्कृतीको बखान झर्कोलाग्दो छ ।

चलचित्रमा स्टारभन्दा अभिनयकला भएका कलाकारहरु टिक्न थालेका छन् । कास्ट र क्रु अव्वल छान्न र कथा लेख्न जान्न सके चलचित्र हिट हुन्छ । नत्र फ्लप

एकातिर लिम्बु संस्कृतीको बखान गरिएको छ भने अर्कोतर्फ बाहुनको जनै चुडालेर अपमान गरिएको छ । लिम्बु संस्कृतीको बखान गर्नेले बाहुन संस्कृतीको चाही किन अपमान गरेको निर्देशक उपेन्द्र सुव्वाले आलोचना गर्ने ठाँउ राखेका छन् । बाहुनलाई काठा जस्तो अपमानजनक शब्द प्रयोग गरिएको छ ।
चलचित्रमा यौन सम्बन्धको झर्दोलाग्दो दृश्य छन् । कलात्मक शैलीमा देखाउन सकिने दृश्यलाई अश्लील ढंगबाट देखाइएको छ । जुन हेर्दा दर्शको आँखा बिझाउछ ।
चलचित्रको ट्रेलर हेरेर चलचित्र हेर्न जाने दर्शक निराश हुने अवस्था छ । जति राम्रो ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र त्यस्तो छैन ।
चलचित्रको कथामा कौतुहलता भेटिदैन । कथाकारले बुझ्न जरुरी छ । अब के होला?, अब के होला? भन्ने कौतुहल नभएसम्म दर्शक हलमा छट्पटाउछ । चलचित्रको मध्यान्तरसम्म दर्शक बाँध्ने कौतुकलपुर्ण परिस्थिती चलचित्रले निर्माण गरेको छैन ।


प्रबिण खतिवडा
चलचित्रमा प्रविण खतिवडाले मन छुने अभिनय गरेका छन् । एउटा संर्घषशील युवकले जीवनमा भोग्नु गरेको अनेकौं झमेलालाई प्रविणले सरल ढंगले अभिनयमार्फत देखाएका छन् । उनको अभिनयशैली बनावटी छैन । यतार्थपरक उनको अभिनय तारिफयोग्य छ ।

मिरुना मगर
अभिनेत्री मिरुना मगरको सोझोपन र निष्कपट चरित्र चलचित्रको सुन्दर पक्ष हो । उनको लिम्बुनी समुदायका महिलाहरुको जस्तै लबजले चलचित्रमा मिठास भरेको छ ।

मेनुका प्रधान
नेवार खानदानकी अभिनेत्री मेनुकाको नेवारी लवजको बोल्ने शैली ठ्याक्कै मिल्छ । शंकालु र रिसालु स्वभावलाई उनले चलचित्रमा न्याय हुने गरेर चरित्र निर्माण गरेकी छिन् ।

दयाहाङ राईं
चलचित्र मनसरामा अभिनेता दयाहाङ राई ‘पाहुना’ भूमिकामा सिमित छन् । यद्यपी उनले चलचित्रमा मानाङ नामको एक साहित्यिक मन भएको चरित्र उतारेका छन् । उनको लजालु चरित्रसँगै फरक अभिनय क्षमतालाई पर्दामा उतारिदिएका छन् ।
चलचित्रमा उपेन्द्र सुव्वा आफैले समेत अभिनय गरेका छन् । उनीबाहेक साहित्यकार विप्लव प्रतिक र गायक सत्यराज आचार्यले पनि चलचित्रमा अनुहार देखाउन रहर गरेको प्रतित हुन्छ । निर्देशक सुव्वाको अभिनय खासै सम्झनलायक छैन । साहित्यकार विप्लव प्रतिक छोटो भूमिकामा देखिएका छन् । साहित्यकार प्रतिकको अभिनय औसत लाग्छ । गायक सत्यराज आचार्य डाक्टरको भूमिका पनि सन्तोषजनक छ ।

चलचित्रलाई उत्कृष्ट भन्न सकिने अवस्था देखिदैन । मनसरा समग्रमा नराम्रो चलचित्र होइन । धेरै सुन्दर पक्ष हुँदाहुदै चलचित्रलाई कमजोरीले ढपक्कै ढाकेको छ

चलचित्र दयाहाङ,मिरुना, मेनुका र प्रविण वरिपरि घुमेको भएपछि कथाको फनफनी घुमाइएको छ । बाँजोपनको प्रसंग बिचैमा छोडेर कथाकारले भैसीपालन र बंगुरपालनको कष्ट देखाएका छन् । भैसी गोठ बेच्ने प्रसंंग र रक्सीको कथा देखाएपछि त्यो पनि बीचैमा अलपत्र छोडिएको छ । चलचित्रमा कथाकारले प्रेम प्रसंग उप्काएका छन्, जुन फेरि अलपत्र पारिएको छ । चलचित्रको अन्त्यमा मनरानी लिम्बु र मानाङको मिलन विछोडको कथातिर अघि बढ्छ ।
चलचित्रको पात्र भने सशक्क्त छन् । चलचित्रको कथा भन्ने शैली पनि अव्वल छ । कलाकारहरुले फरक चरित्र निर्माण गरेर उत्कृष्ट चलचित्र बनाउन योगदान दिएका छन् । तर कथाले बाटो विराएको छ । एउटै चलचित्रमा धेरै कुरा भन्न लेखक सुव्वाले हतार गरेका हुन् कि भन्ने प्रतित हुन्छ । चलचित्र हेरुन्जेल मज्जा त आउँछ । तर चलचित्रले के भन्न खोजेको हो । बुझ्नै कठीन हुन्छ ।
सुझाव
पछिल्लो समय चलचित्रको सशक्त कथा बोकेका चलचित्र बिक्न थालेका छन् । चलचित्रमा स्टारभन्दा अभिनयकला भएका कलाकारहरु टिक्न थालेका छन् । कास्ट र क्रु अव्वल छान्न र कथा लेख्न जान्न सके चलचित्र हिट हुन्छ । नत्र फ्लप ।
सुव्वाको निर्देशकीय क्षमतामा प्रश्न उठाउने ठाँउ देखिदैन । अव्वल साहित्यकारको कथा लेख्ने र भन्ने शैली राम्रो छ । तर दर्शकको मुटु छाम्न सकिएन भने राम्रा कुरा पनि बजारमा बिक्दैनन् । बलियो कथा पनि लामो समय टिक्दैनन् ।
चलचित्रको कथाले निरन्तर लय समात्न थप मेहनत गर्दा राम्रो हुन्छ । कथा लेखनलाई छरितो र राम्रो बनाउन सके सम्पादनको बेला धेरै काटेर फ्याकै पर्दैन । पैसा जोगिन्छ । राम्रो चलचित्र बनाउन सके दर्शकले हेर्छन्, पैसा कमाइन्छ ।
नेपाली चलचित्रका निर्देशकले दर्शकको मुटु छामेर चलचित्र बनाउदैनन् । निर्मम भएर समिक्षा गर्ने हो भने आफ्नो जात, धर्म, संस्कृतीभित्रका कुरा भन्न करोडौं पैसा खर्च गर्छन् । निर्देशकले मनभित्रको कुण्ठा चलचित्रमा घुसाएर बेच्न खोजिरहेका हुन्छन् । विभिन्न वर्गमा विभाजित नेपाली दर्शकहरुलाई अरुका कुण्ठा र पिडा सुन्न पैसा खर्च गर्न चाहदैनन् । उनीहरु मनोरञ्जन चाहन्छन् । आम मान्छेको कथा भन्ने पछिल्लो पुस्ताका निर्देशकहरु सफल छन् । जो विभाजित मासिकता बोक्दैनन् ।
अन्तमा,चलचित्रलाई उत्कृष्ट भन्न सकिने अवस्था देखिदैन । मनसरा समग्रमा नराम्रो चलचित्र होइन । धेरै सुन्दर पक्ष हुँदाहुदै चलचित्रलाई कमजोरीले ढपक्कै ढाकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ४३ बजे