काठमाडौँ
सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गर्नुभएको सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले बताएका छन् ।
“उच्च अदालतकै निर्णयलाई सदर गर्ने फौसला भएको छ । यो मुद्दा हाल उच्च अदालतमै रहेकाले त्यही कानुन बमोजिम गर्नु र ध्यानाकर्षण गरिएको भनेर फैसला दिइएको छ ।” चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् । शुक्रबार भएको सुनुवाइ भएपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो । यो फैसलासँगै चलचित्र ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुला भएको छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले चलचित्रमा कुनै समुदाय वा वर्गलाई ठेस पु¥याउने गरी कुनै दृश्य वा संवाद नभएको बताएका छन् ।
“हामीले बनाएको चलचित्र हेरेर बादी समुदायकै अभियन्ताले धन्यवाद दिएका छन । हालै मात्र सुर्खेतमा बादी समुदायकै १५० बढीले चलचित्र हेर्नुभएको थियो, जहाँ हामी उपस्थित हुँदा धन्यवाद दिनुभएको थियो । यो चलचित्रले शिक्षाको ज्योतिले जीविकोपार्जनमा ल्याउने परिवर्तनलाई देखाएको छ”, निर्माता खत्रीले भनेका छन् ।
बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथा रहेको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदीलगायतले अभिनय गरेका छन् । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ गत वैशाख २५ देखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनरत छ ।








प्रतिक्रिया