८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै



२४ वैशाख । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ। काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरे।

यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग यही वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो। त्यसै सहमतिका आधारमा वैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो।

कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुगेका थिए।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्‍यौँ। त्यसको भोलिपल्टैबाट काम थालिएको छ। हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ।’

नेपाल पूर्वाधार निर्माण कम्पनी विसं २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भने, ‘कम्पनीका लागि यो एउटा अवसर पनि हो। यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ।’

खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ। यसपछि बर्षाको पानी भेल भएर बग्दैन। जमिनमुनि प्रवेश गर्ने गरी काम अघि बढाइएको जनाइएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ११ : ०२ बजे