४ असार २०८१, सोमबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पुजार सार्की : मनै कटक्क खाने मौलिक चलचित्र



ललितखबर
१२ जेठ । जातीय विभेदविरुद्धको चलचित्र पुजार सार्की विहीबार बुद्धजयन्तीको दिनबाट प्रर्दशन सुरु भएको छ ।
चलचित्रको कथा चर्चित अभिनेता पल शाह(मेघराज), प्रदिप खड्का(मैतबहादुर) र आर्यन सिग्देल(पुजार)सँगै अभिनेत्री अञ्जना बराइली(मैया) र परिक्षा लिम्बु(गौमायाँ)को वरिपरि घुमेको छ ।
२०४६ साल आसपास कार्कीको कास्कीकोट गाँउतिरको परिभेष चलचित्रमा समेटिएको छ । चलचित्रमा २०४६ साल बुझाउन थोत्रो रेडियोमा हरिशरण लामिछानेले प्रजातन्त्र उदयको लागि भएको संर्घषको समाचार पढेको सुनाइएको छ । उनको समाचार भन्नेशैली, थोत्रो रेडियो,पुराना घर र पाखा पखेराले दर्शकलाई त्यो युगतिर लैजान्छ ।
निर्देशक दिनेश राउतले पुराना पुस्ताका कथामार्फत आजको युगको समस्या बेजोडका साथ भनेका छन् । जात व्यवस्थालाई ब्राम्हण क्षेत्र समुदायले मात्रै होइन मगर समुदायले झन् गहिरो रुपमा स्वीकार गरेको यतार्थलाई प्रष्ट पारिएको छ ।
चलचित्रले विशुद्ध सामाजिक कथा उठाएको छ । सामाजिक कथामा प्रेम प्रसंग जोडिएको पनि रोमान्सका दृश्य चलचित्रमा अटाएका छैनन् ।
चलचित्रभित्र राजनीतिक परिवर्तन समाजका लागि भएको थिएन भन्ने कुरा दरिलो रुपमा उठाइएको छ । जात व्यवस्था अन्त्य राजनीतिक लाभका लागि उठाइएको मुद्दा थियो भन्ने चलचित्रले बुझाउन खोजेको छ ।
कास्कीकोटको मैत बहादुर (जंगलमा फ्किएको बच्चा) एउटा कथित तल्लो जातले पालन पोषण गरेपनि समाजले सुद्र ठह¥याउछ । उ आफूलाई उपल्लो जातको सम्झदै मगरनी गौमायाँको प्रेममा डुव्छ । ब्राम्हण पुजार कथित सार्की परिवारकी मैयाँसँग प्रेममा परेपछि चलचित्रको कथा अघि बढ्छ ।


चलचित्रभित्र गाँउ,घर,पाखा र पखेराका मनग्गे दृश्य छन् । चलचित्रमा आशिष पौडेलले युग सुवाउदो पुराना कपडा जोहो गरेका छन् । माधवप्रसाद पाण्डे र रेनिशा अधिकारीले कलाकारलाई पात्र सुवाउदो श्रृगार गरेका छन् ।
चलचित्रमार्फत निर्देशक दिनेश राउत एउटा गम्भिर सामाजिक समस्यालाई सुन्दर र रोचक ढंगले पर्दामा देखाएका छन् ।
सामाजिक राजनीतिक मुद्दामा रुचि भएका एउटा पुस्ताले चलचित्र हेरेर भरपुर मज्जा लिन सक्छ । २०४६ साल वरपरको कथा बोकेको चलचित्र भएकाले पुराना पुस्ताले हेरेर आफूलाई त्यो युगसम्म पुगेको महसुस गर्न सक्छ ।
चलचित्रभित्र कटक्कै मन खाने दृश्य बग्रेल्ती छन् । सामाजिक विभेदमा रहेका एउटा परिवारभित्रको मनोदशा कस्तो हुन्छ मनछुने किसिमबाट चलचित्रमा देखाइएको छ । ठूला जातले कथित साना जातलाई अपहेलना गरेको विषय मिहिन पक्ष प्रस्तुत गरिएको छ ।
चलचित्रको सवल पक्ष पटकथा कथा(स्क्रिप्ट) र कलाकारहरुको मौलिक चरित्र चित्रण हो । अभिनेता प्रदिप, आर्यन र पल शाह मात्रै होइन अञ्जना र परिक्षाले फरक फरक चरित्रमा रुपाञ्तरित भएर आफूहरुलाई अब्बल कलाकार प्रमाणि गरेका छन् ।
प्रजानत्त्रको उदयसँगै गाँउघरमा घुसेको राजनीति र त्यसको मारमा सोझा गाँउले थिचिएको विषयलाई चलचित्रमा मसिनो गरि देखाउन निर्देशक दिनेश राउत सफल छन् ।
चलचित्रमा समेटिका गीतसंगीत पक्ष पनि उत्तिकै कर्णप्रिय छन् । मौलिक लोकआधुनिक संगीतलाई चलचित्रले प्रश्रय दिएर त्यो युगको एउटा क्षणलाई चित्रण गरेको छ ।
पुजार सार्कीमा द्वन्द्वलाई यतार्थपरक र मौलिक ढंगल देखाइएको छ । गाँउले परिवेशमा हुने झगडालाईं निर्देशक राउतले टपक्कै टिपेर चलचित्रमा राखेको भान हुन्छ । अन्तिम दृश्य हेरेर चलचित्र भवनबाट फर्कदा हरेक दर्शकको मनै कटक्क खान्छ ।
नकारात्मक पक्ष
चलचित्रमा पुजार र मैया अनि मैतबहादुर र गौमायाको केमेष्ट्रि मिलेको छैन । दुबै जाडीको प्रेमालाभ पनि दर्शकलाई महसुस हुने गरेर देखाइएको छैन । एउटा गीतकै बीचमा मैया बेहुली बन्नुलाई विवाह मान्नु परेको छ । चलचित्र चलचित्रजस्तो नलाग्न सक्छ । कतिपय दर्शकले डकुमेन्ट्री वा टेलिचलचित्र हेरेर पैसा बर्बाद बनाएको अनुभव पनि गर्नसक्छन् ।
चलचित्रका संवाद रैथाने भाषाको धेरै प्रयोग गरिएको छ । दर्शकले नबुझ्न सक्छन् ।
चलचित्रको कथामा कही कतै मेल खाएको देखिन्छ । २०४६ सालको प्रजातन्त्रको उदय नहुँदै बन्दुक बोकेर युद्ध लडेको दृश्य चलचित्रमा देखाइएको छ जुन यतार्थनजिक छैन ।
शहरिया जीवन विताउने आधुनिक पुस्ताले यस चलचित्रले नछुनसक्छ । शहरिया रमझममा रमेका आधुनिक पुस्ताले चलचित्र पुजार सार्कीलाई सकारात्मक रिन्यु नदिन पछि सक्छन् तर देशभर रहेका ८ लाख दलीत समुदाय र ब्राम्हण क्षेत्री वर्गको रुचिको विषय रहेको पुजार सार्की हेर्नै पर्ने चलचित्र बनेको भन्न सकिन्छ ।


प्रदिप खड्का(मैतबहादुर)

प्रदिप खड्काले चलचित्रमा गज्जव राम्रो अभिनय गरेका छन् । उनले बोल्ने संवादशैली मौलिक अनि मन छुने किसिमको छ । छिटो छिटो बोल्ने छट्पटे अनि अनुहार बाँङ्गो बनाउदै अभिनेता खड्का बोल्छन् । हाउभाउले मात्रै होइन दर्शकलाई उनको संवादले पनि हसाँउछ ।
मैत बहादुरको लामो कपाल,पुरानो कमिज सुरुवाल र इष्टकोट लगाएर गरेको अभिनय तारिफयोग्य छ ।


आर्यन सिग्देल(पुजार)
चकलेटी नायकको छवि बनाएका पुराना अभिनेता आर्यन सिग्देलको पनि अभिनय कौशल नयाँ छ । उनले लगाएका कपडादेखि हाउभाउसम्मले चलचित्रको प्राण भरेको देख्न सकिन्छ । आर्यनको नृत्य समेत प्रसंशायोग्य छ । संवादशैलीले उनको नयाँखाले भूमिका रहेको प्रमाणित हुन्छ । हरिद्वार पुगर बेध पढेर गाँउ आएका पुजार पात्रको आर्यन सिग्देलले उपल्लो ब्राम्हण चरित्र निर्वाह गरेका छन् । सबै जात समान देख्ने उनको चरित्रले वास्तविक हिरोको अनुभव दिलाउछ ।


पल शाह(मेघराज)
शिक्षित र क्रान्तिकारी युवकको भूमिकामा रहेका पल शाह मेघराजको भूमिकामा छन् । अन्र्तजातीय विवाहको लागि पहल गर्ने उनको चरित्रको संवादशैली पनि नयाँ छ । तुलनात्मक रुपमा छोटो भूमिका भए पनि पल शाहले महत्वपूर्ण रोल पाएका छन् ।


अञ्जना बराइली(मैया)
एउटा सोझो कथित तल्लो जातकी युवतीको भूमिकामा अञ्जना बराइलीले सशक्त भूमिका निभाएकी छिन् । उनले मैया पात्रलाई न्याय गरेकी छिन् । गाँउले लवजमा उनको अभिनय खारिएको अभिनेत्रीले अभिनय गरिरहेको भान हुन्छ । विचरा पात्रलाई उनले अभिनयमार्फत पुष्टि गरेकी छिन् ।


परिक्षा लिम्बु(गौमायाँ)
सोझी चञ्चले युवती गौमायाको भूमिकामा परिक्षा लिम्बुले अभिनय गरेकी छिन् । चलचित्रको पात्रमा उनले राम्रो परिक्षा दिएर उतिर्ण भएझैं लाग्छ ।
सुवास गजुरेलको भेषभूसा र अभिनय हेर्दा दुरुस्तै गाँउघरका हुँदा खानेहरुको जीवन याद गराउँछ । ब्राम्हण समुदायका प्रतिनिधित्व गर्दै कलाकार मोहन निरौलाले फरक बोलीचालीमा गरेको छन् । जुन अभिनय असाध्यै मौलिक छ ।
अन्तमा,नेपाली रजतपटमा किसिम किसिमका चलचित्र आउँछन्,जान्छन् । एउटा युगको एउटा कालखण्डलाई प्रतिनिधित्व गर्ने सामाजिक कथामा आधारित यतार्थपरक चलचित्र कमै प्रदृशन हुन्छन् । राज्यले गर्नुपर्ने काम निर्देशक दिनेश राउतले गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ८ : ०९ बजे