९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिनूः काठमाडौं महानगर



१८ जेठ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको छ । महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।

यो व्यवस्था १५ दिनपछि पूर्णरुपमा कार्यान्वयनमा ल्याउने महानगरको तयारी छ । हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक शौचालय प्रयोग गरेवाफत् सेवाग्राहीले कम्तिमा ५ देखि १० रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ ।

निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौं महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउँदै आएको छ ।

सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुलाई आज जेठ १८ गतेदेखि १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न पनि भनिएको छ ।

सो समयअवधि पश्चात् महानगरपालिका भित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ९ : ०७ बजे