२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुक्रबारदेखि मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन अनुरोध



काठमाडौँ
१३ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ ।
आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भोलिदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएका छन् । उनका अनुसार मनसुनी वायुको प्रभावले शुक्रबारदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका केही स्थानमा, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाले शुक्रबारदेखि आइतबारसम्म मेघगर्जन÷चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । महाशाखाले दैनिकरुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन नियमित हेर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।